नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनुअघि दुई टेस्ट राष्ट्रसँग घरेलु द्विपक्षीय शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको सन् २०२६ को क्यालेन्डरमार्फत यो जानकारी दिएको हो।
क्यानका सचिव पारस खड्काका अनुसार क्रिकेट विश्वकप लिग–२ का शृंखलाअघि र पछाडि कम्तीमा दुई टेस्ट राष्ट्रलाई नेपाल बोलाएर एकदिवसीय द्विपक्षीय शृंखला आयोजना गर्ने तयारी भइरहेको छ। यद्यपि, कुन–कुन टेस्ट राष्ट्र आउने भन्ने विषयमा क्यानले हालसम्म खुलाएको छैन।
क्यालेन्डरअनुसार नेपालले मार्च १० देखि २५ सम्म ओमान र यूएई तथा मे ५ देखि १८ सम्म अमेरिका र स्कटल्यान्ड सहभागी हुने क्रिकेट विश्वकप लिग–२ का दुई घरेलु शृंखला आयोजना गर्नेछ। लिग–२ एकदिवसीय विश्वकप छनोटको आधार हो। हाल नेपाल २० खेलबाट १२ अंकसहित आठ टोलीमध्ये सातौं स्थानमा रहेको छ, जसका कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतामाथि दबाब बढेको छ। आउँदा दुई घरेलु शृंखलाले नेपालको एकदिवसीय भविष्यको निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा पारस खड्काले भने, “विभिन्न टेस्ट राष्ट्रहरूसँग समन्वय भइरहेको छ। वर्षा सुरु हुनुअघि कम्तीमा दुई टेस्ट राष्ट्रलाई नेपाल ल्याउने प्रयासमा छौं। लिग–२ सुरु हुनु अघि र पछि दुई एकदिवसीय द्विपक्षीय शृंखला हुनेछ।”
महिला क्रिकेटतर्फ जनवरीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट आयोजना गर्नेछ, जसमा १० राष्ट्र सहभागी हुनेछन्। यस अवधिमा नेपाली महिला टोली व्यस्त रहनेछ। उता पुरुष टोली अर्को महिना भारतमा हुने ट्वान्टी–२० विश्वकपको तयारीमा जुट्नेछ। खड्काका अनुसार ट्वान्टी–२० विश्वकप तयारीको विस्तृत खाका १–२ दिनभित्र सार्वजनिक गरिनेछ र तयारीका लागि श्रीलंका जाने सम्भावना पनि छ।
त्यस्तै, नेपालले सन् २०२७ मा बंगलादेशसँग सह–आयोजनामा आईसीसी यू–१९ विश्वकप क्रिकेट आयोजना गर्नेछ। क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार उक्त प्रतियोगितालाई लक्षित गरी विशेष क्यालेन्डर तयार गरिएको छ। अप्रिलमा यू–१९ महिला त्रिकोणात्मक शृंखला, सेप्टेम्बरमा यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ।
नेपाल प्रिमियर लिग अक्टोबर–नोभेम्बरमा
नेपाल प्रिमियर लिग (एनपीएल) अबदेखि अक्टोबर–नोभेम्बरमा आयोजना गरिने भएको छ। “क्यालेन्डर अत्यन्तै व्यस्त छ। यति धेरै प्रतियोगिता छन् कि राष्ट्रिय खेलाडीले सबै खेल खेल्न नसक्ने अवस्था पनि आउन सक्छ,” खड्काले बताए।
मे महिनामा महिला अन्तर्राष्ट्रिय शृंखला आयोजना हुनेछ, जुन राजधानी बाहिर निर्माणाधीन मैदानहरूमा गरिने क्यानको योजना छ। क्यालेन्डरअनुसार प्रधानमन्त्री कपका लागि जिल्ला छनोट सोमबारबाट सुरु हुनेछ भने राष्ट्रिय प्रतियोगिता मार्चमा हुनेछ। जय ट्रफी फेब्रुअरीमा, वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अप्रिलमा र महिला राष्ट्रिय प्रतियोगिता मे २ देखि २० सम्म आयोजना हुनेछ।
क्यानले जुलाईमा लेभल–२ कोचिङ कोर्स र अगस्टमा लेभल–१ अम्पायरिङ कोर्स सञ्चालन गर्ने पनि जनाएको छ।






