काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा समावेश भएका उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी नाम फिर्ता लिइएमा सम्बन्धित राजनीतिक दलले अर्काे उम्मेदवार थप्न पाउने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत पुस १३ र १४ गते ६४ राजनीतिक दलबाट प्राप्त समानुपातिकतर्फका उम्मेदवारी मनोनयन हाल रुजु भइरहेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बन्दसूचीमा कानुनबमोजिम समावेशी समूह मिले–नमिलेको परीक्षण गरी पुस २० गतेभित्र सम्बन्धित दललाई जानकारी गराइनेछ। त्यसपछि दलहरूले आवश्यक सच्याएर पुस २७ गतेभित्र संशोधित बन्दसूची पुनः पेश गर्नुपर्नेछ।
संशोधित सूचीमा समावेश भएका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते त्यसका लागि समय तोकिएको आयोगले जनाएको छ। नाम फिर्ताका लागि आवेदन परेमा आयोगले सम्बन्धित दललाई जानकारी गराउनेछ र दलले त्यसको सट्टामा अर्काे उम्मेदवारको नाम थप्न पाउनेछ।
आयोगका अनुसार माघ ४ गते समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरिनेछ। सूचीमा रहेका उम्मेदवारबारे कानुनी रूपमा अयोग्य भएको दाबी–विरोध परेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिनेछ।
एक पटक अन्तिम नामावली प्रकाशन भएपछि बन्दसूचीमा कुनै पनि प्रकारको परिवर्तन गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।






