काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरहरूको भावनासँग आफू सहमत रहे पनि केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा गरेको निर्णयमा विद्रोह गरेर अघि बढ्न नसकिएको बताएका छन्।
शनिबार काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितका नेता–कार्यकर्तासँग भएको छलफलमा नेता कोइरालाले पार्टीको निर्णय प्रक्रियामा बहुमतको निर्णय मान्न बाध्य हुनुपरेको स्पष्ट पारे।
‘विशेष महाधिवेशनको भावनासँग म सहमत छु। हस्ताक्षरकर्ताहरूको भावना मेरो भावनासँग जोडिएको छ,’ छलफलमा सहभागी एक नेताको भनाइ उद्धृत गर्दै भने, ‘तर केन्द्रीय कार्यसम्पादन समितिमा बहुमतले गरेको निर्णय मान्नै पर्यो। त्यसमा विद्रोह गरेर जान सकिएन।’
उनले विशेष महाधिवेशनको माग उठाएका नेता–कार्यकर्ताहरूको भावना सम्बोधन गर्न केन्द्रीय कार्यसमितिलाई कन्भिन्स गर्ने प्रयास गरे पनि सफल हुन नसकेको बताए। ‘मैले कार्यसमितिलाई कन्भिन्स गर्ने प्रयास गरेँ, तर त्यो सफल भएन,’ कोइरालाको भनाइ उद्धृत गर्दै ती नेताले बताए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले शुक्रबार बहुमतका आधारमा १५औँ महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको थियो। उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अन्य तीन जना नेताहरूले फरक मत राखेका थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पुसभित्रै आफूहरूले डाक्ने उद्घोष गरेका थिए। संस्थापन पक्ष भने विशेष महाधिवेशनको विपक्षमा रहेको छ। नेता कोइराला यसअघि नै पुसभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षमा उभिँदै आएका थिए।
शनिबारको छलफलमा नेता कोइरालाले पार्टीभित्र चुलिएको पछिल्लो विवाद समाधानका लागि संवाद प्रक्रिया सुरू गरेको जानकारी पनि दिएका छन्। ‘समाधान दिनका लागि संवाद मैले सुरू गरेको छु,’ उनले छलफलका क्रममा भने।
छलफलमा सहभागी केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलका अनुसार नेता कोइरालाले आइतबार पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानमा संलग्न नेताहरूसँग थप छलफल गर्ने तयारी गरेका छन्। शनिबारको छलफलमा अभियानमा संलग्न देवराज चालिसे, उज्वल बराल, दिक्पालबहादुर शाही, कालिबहादुर सहकारीलगायत नेताहरू सहभागी थिए।
हस्ताक्षर अभियानमा संलग्न नेता दिक्पालबहादुर शाहीका अनुसार सहभागी नेताहरूले डा. कोइरालालाई विशेष महाधिवेशनको अपनत्व लिन आग्रह गरेका छन्। साथै, पार्टीको शीर्ष नेतृत्व र महामन्त्रीहरूबीच सहमति जुटाउन मध्यस्थता गर्न पनि अनुरोध गरिएको छ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले अहिलेको विषम परिस्थितिको निकास, मुलुकमा देखिएको संकट र पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित अवतरण गराउने विषयमा छलफल भएको जानकारी दिए। केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनको मागबीच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको उनले बताए।
छलफलमा सहभागी कांग्रेस दोलखाका सभापति बर्मा लामाले पनि नेता कोइरालाले पछिल्लो राजनीतिक अवस्थाबारे राय–सुझाव लिएको प्रतिक्रिया दिए।






