झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको जहाज शुक्रबार राति ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।
उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित अन्य छ जना यात्रु घाइते भएका छन् ।
घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र १६ वर्षीया प्रिया घतानी रहेका छन् ।
घाइतेहरूलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्काल भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट श्रेष्ठको उपचार जारी रहेको छ भने अन्य छ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
जहाज दुर्घटना भएलगत्तै प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारमा खटिएको थियो । प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकालेर उपचारका लागि अस्पताल पुर्याएको जनाएको छ ।
जहाज शुक्रबार राति ८ः२३ बजे काठमाडौंबाट उडेको थियो ।
Photo: Jhapa Police






