काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा जारी कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख मसान्तमा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो । बैठकमा २०८२ चैत २१ गतेदेखि पार्टी अधिवेशन प्रक्रिया प्रारम्भ गर्ने कार्यतालिकासमेत प्रस्ताव गरिएको छ ।
प्रस्तावित कार्यतालिकाअनुसार २०८२ चैत २१ गते वडा अधिवेशन तथा चैत २५ गते गाउँ/नगरपालिका अधिवेशन गर्ने प्रस्ताव छ । त्यसैगरी चैत २८ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तय गरिएको छ ।
यस्तै, वैशाख २ गते एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशन तथा वैशाख ५ गते दुई वा सोभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
त्यसपछि आगामी वैशाख १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गरी वैशाख मसान्तभित्र केन्द्रीय अधिवेशन (१५औँ महाधिवेशन) सम्पन्न गर्ने प्रस्ताव कांग्रेसले अघि सारेको छ ।
कार्यसम्पादन समिति बैठक जारी रहेकाले प्रस्तावमाथि छलफल तथा निर्णय बाँकी रहेको जनाइएको छ ।






