काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको स्पष्ट गर्नुभएको छ । आज आफ्नै निवास महाराजगञ्जमा २५ जना केन्द्रीय सदस्यसँग भएको भेटमा सभापति देउवाले पार्टीलाई एकताबद्ध राख्दै मिलेर अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको हो ।
भेटका क्रममा केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनका कारण पार्टी विभाजनतर्फ जान सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए । पार्टीभित्र महाधिवेशनसम्बन्धी विवाद चर्किँदै गएको पृष्ठभूमिमा सभापति देउवाले एकताको पक्षमा रहेको धारणा राख्नुभएको हो ।
हिजो पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनको मिति घोषणा गरेपछि कांग्रेसभित्र महाधिवेशन विवाद थप उत्कर्षमा पुगेको छ । विवाद समाधानका लागि आज पार्टीको कार्यसम्पादन समिति बैठक बस्ने तयारी गरिएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले हिजो विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्नुभएको थियो । कांग्रेसको १५औँ महाधिवेशन अनिश्चित बन्दै गएसँगै पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको छ ।
यसैबीच, आज बिहान कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गर्दै पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् । उनीहरूले विधानको धारा १७ (२) बमोजिम यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न माग गरेका छन् ।






