सार्वजनिक सूचना निकाल्ने चेतावनीपछि देउवा र प्रचण्डले जाँचबुझ आयोगको म्याद बुझे

 

काठमाडौं । जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका प्रमुख दलका दुई शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक सूचना प्रकाशित गर्ने चेतावनीपछि म्याद बुझेका छन् ।

जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसको भोलिपल्ट भएको विध्वंसबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले दुवै नेतालाई आफ्नो धारणा राख्न आग्रह गर्दै पत्र पठाएको थियो । व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सँगको समन्वयमा म्याद बुझाउने प्रयास गरिए पनि प्रारम्भमा दुवै नेताले पत्र बुझ्न अस्वीकार गरेका थिए ।

कांग्रेस सभापति देउवाले आफू २४ भदौको आगजनीबाट प्रत्यक्ष पीडित भएको, आफ्नै घर जलेर नष्ट भएकाले अन्यत्र बस्नुपरेको तथा जेनजी आन्दोलनका बेला राज्यको कुनै भूमिकामा नरहेको अवस्थामा किन बयान दिनुपर्ने भन्दै प्रश्न उठाएका थिए ।

त्यसैगरी प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, सत्तामा रहेकाहरूमाथि खबरदारी गरिरहेको अवस्थामा उल्टै आफ्नो घरमा आगजनी भएको भन्दै के आधारमा बयान दिनुपर्ने हो भनी पत्र बुझ्न अस्वीकार गरेका थिए ।

तर आयोगको समन्वयमा खटिएका कर्मचारी तथा सुरक्षा अधिकारीहरूले उक्त पत्र बयानका लागि नभई सोधपुछ तथा धारणा बुझ्नका लागि पठाइएको स्पष्ट पारेका थिए । साथै म्याद बुझ्न अस्वीकार गरेमा सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना प्रकाशित गरिने र त्यसपछि पनि सहयोग नगरे सोही व्यहोरा प्रतिवेदनमा उल्लेख गरिने चेतावनी दिइएको थियो ।

त्यसपछि केही घण्टाको अन्तरमा दुवै नेताले आयोगको म्याद बुझेको म्याद तामेलमा सहयोग गरिरहेको प्रहरीसम्बद्ध स्रोतले जनाएको छ । यद्यपि आयोगमा उपस्थित हुने वा लिखित जवाफ पठाउने विषयमा भने हालसम्म कुनै निर्णय भइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्