प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन

 

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्यले ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन गरेको छ ।

बाढी, पहिरो, भूकम्प, महामारीलगायतका प्राकृतिक प्रकोपहरूले समय–समयमा देशभर प्रभाव पार्ने र त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्र तथा निजी विद्यालय समुदायमा पर्ने यथार्थलाई ध्यानमा राख्दै विभाग गठन गरिएको प्याब्सनले जनाएको छ ।

विगतका वर्षहरूमा विपद्का समयमा राहत, सहजीकरण तथा समन्वयका विभिन्न मानवीय अभियानहरू सञ्चालन गर्दै आएको अनुभवलाई संस्थागत रूप दिन यो कदम चालिएको प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिनुभयो ।

प्याब्सन केन्द्रीय कार्यसमितिको निर्णयअनुसार गठन गरिएको उक्त विभागको कार्यविधि तथा सञ्चालन मोडालिटी तयार गर्ने जिम्मेवारी केन्द्रीय उपाध्यक्ष रविन्स शर्मालाई प्रदान गरिएको छ ।

शर्माको संयोजनमा गठन हुने समितिमार्फत विपद् व्यवस्थापन, राहत संकलन, सहयोग वितरण तथा आपतकालीन समन्वयका गतिविधिहरूलाई दिगो र प्रभावकारी रूपमा अघि बढाइने संस्थाले अपेक्षा गरेको छ ।

प्याब्सनले यस मानवीय तथा संस्थागत सहयोग अभियानमा सम्पूर्ण सदस्य विद्यालय, पदाधिकारी तथा प्रदेश, जिल्ला र पालिका संरचनाहरूलाई सक्रिय सहकार्य र समन्वय गर्न आह्वानसमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्