काठमाडौं — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।
महामन्त्रीद्वय थापा र शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेका छन्। यसका लागि भृकुटीमण्डपको हलसमेत बुक गरिसकिएको नेताहरूले बताएका छन्।
विशेष महाधिवेशन आह्वानको जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए। त्यसपछि पार्टीभित्र उत्पन्न परिस्थितिबारे विस्तृत छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५औँ नियमित महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो। तर, वडा र पालिका अधिवेशन समयमै हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशन बोलाउने निर्णय गरेका हुन्।






