काठमाडौं — लगातार हुस्सु र कुहिरोले ढाकिएको तराई–मधेशका केही स्थानमा हिजोदेखि घाम लाग्न थालेको छ। मौसमविद्का अनुसार आज पनि तराईका धेरै ठाउँमा आकाश खुल्ने र घाम लाग्ने सम्भावना रहेको छ। घाम लागेसँगै केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो क्रमशः कम हुने अपेक्षा गरिएको छ।
तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण चिसो बढेपछि धेरै विद्यालय बन्द रहनुका साथै दैनिक जनजीवन र कामकाजसमेत प्रभावित हुँदै आएको थियो। घाम लाग्न थालेपछि बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गर्ने श्रमिकहरूले केही राहत महसुस गरेका छन्।
यता, काठमाडौं उपत्यकामा आज आंशिक बदली रहने मौसमविद्को अनुमान छ। दिनभर पूर्ण रूपमा बादल नलागे पनि आंशिक बदली कायमै रहने बताइएको छ। हिजोको तुलनामा आज काठमाडौंको तापक्रम केही बढेको छ। आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ, जुन हिजो बिहान ५ डिग्री सेल्सियस थियो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।







