काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन अनिश्चित बन्दै गएपछि पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिविनै विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाएका छन्।
महामन्त्रीद्वयले औपचारिक रूपमा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन भनिएको छ।
महामन्त्री थापा र शर्माले हिजो जारी गरेको सूचनामार्फत पुस २६ देखि २८ गतेसम्म गर्ने भनिएको नियमित महाधिवेशन स्थगित भएको जानकारी दिएका छन्। साथै, संस्थापन पक्ष तयार नभए पनि पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।
सूचनाअनुसार विशेष महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको छ। हालसम्म कुल ५ लाख ७ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भइसकेको जनाइएको छ। बाँकी खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लाका जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुङ्गिएपछि कूल संख्या ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको पनि सूचनामा उल्लेख छ। अन्य जिल्ला तथा जनसम्पर्क समितिबाट समेत नयाँ सदस्यता इन्ट्रीको काम निरन्तर भइरहेको जनाइएको छ। नियमित महाधिवेशन तथा यससँग सम्बन्धित कार्यतालिका स्थगित भए पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको काम निरन्तर जारी राख्न सबै तहलाई निर्देशन दिइएको छ।
महामन्त्रीद्वय थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै भएको बताएका छन्। तर, नियमित महाधिवेशन तोकिएको समयमा सम्पन्न हुन नसक्ने अवस्था बनेपछि वैकल्पिक रूपमा विशेष महाधिवेशन अघि बढाइएको उनीहरूको भनाइ छ।






