काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले यही पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। काठमाडौँमा हिजो र आज सम्पन्न विशेष महाधिवेशन पक्षधरहरूको छलफलपछि कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन गर्न तयार भएका हुन्।
सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन नहुने अवस्था बनेपछि विशेष महाधिवेशनको ढोका ढकढकाउनु स्वाभाविक भएको बताउनुभयो। संस्थापन पक्ष तयार नभए पनि विशेष महाधिवेशन गर्ने तयारीमा महामन्त्रीद्वय रहेको जनाइएको छ।
विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डपस्थित हल बुक गरिसकिएको पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापतिलाई औपचारिक आग्रह गरिनेछ। तर, कार्यवाहक सभापतिले महाधिवेशन नबोलाए महामन्त्रीहरूले नै बोलाउने तयारी गरिएको छ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए। पार्टी विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ।
यसैबीच, विशेष महाधिवेशन आयोजना गर्ने उद्देश्यले भृकुटीमण्डपमा हल बुक भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई जना महामन्त्री र कार्यवाहक सभापतिसँग छलफल गर्ने बताउनुभएको थियो। तर, उक्त छलफल हाललाई स्थगित भएको बताइएको छ।






