काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गरेका राजनीतिक दललाई पालैपालो बोलाएर त्रुटिबारे छलफल गरिरहेको छ । छलफलबाट देखिएका कमजोरी सच्याएर पुनः पेश गर्न आयोगले यही पुस २० गते औपचारिक पत्राचार गर्ने जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समावेशी समूह मिलेको/नमिलेको लगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको हो । उहाँले हिजो १२ दलका प्रतिनिधिसँग छलफल भएको र आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको जानकारी दिनुभयो ।
आयोगका अनुसार ६४ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् । तीमध्ये २२ दलले मात्रै १ सय १० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन् । आयोगले पुस २१ गतेदेखि २७ गतेसम्म पेश भएको विवरण मिलाउन दललाई समय दिनेछ । दलले सच्याएर बुझाएको बन्दसूची पुनः जाँच गरी आउँदो माघ २० गते उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिने सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो ।
यसैबीच दलहरूले बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर चर्को विवाद र आलोचना भइरहेको छ । केही दलले सूची सच्याउने बताएका छन् । तर आयोगले नाम हेरफेर गर्न नमिल्ने, त्रुटि सच्याउन मात्रै मिल्ने स्पष्ट पारेको छ । यद्यपि बन्दसूचीमा रहेका उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसको सट्टा सोही समावेशी समूहबाट अर्को उम्मेदवार राख्न पाउने व्यवस्था भने रहेको आयोगले जनाएको छ ।






