अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा

काठमाडौँ । अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त प्रणाली सार्वजनिक गरिएको हो । कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभिन्न भिसामा नेपाल भित्रिने विदेशी नागरिकलाई अध्यागमन कानुन विपरीतका गतिविधिमा संलग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन गर्न यो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । साथै विदेशी नागरिकको यात्रा सहजीकरण गर्नसमेत प्रणाली उपयोगी हुने उहाँको भनाइ छ ।

विभागका अनुसार प्रणालीमार्फत नेपाल भ्रमणमा आउने विदेशी नागरिकको सुरक्षा, सूचनाको सहज पहुँच, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस प्रणालीबाट विदेशी नागरिक कहाँ बसेका छन्, कुन स्थानमा छन्, उनीहरूको भिसा कानुनअनुसार छ वा छैन भन्ने विवरण सम्बन्धित संस्था—जस्तै होटल, ट्राभल एजेन्सी, मनी एक्सचेन्ज—ले प्रत्यक्ष रूपमा विभागलाई उपलब्ध गराउनुपर्नेछ ।

पर्यटक नेपालबाट फर्किनुअघि आवश्यक परेमा उनीहरूको अवस्थाबारे वास्तविक समयमै जानकारी लिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटल, ट्राभल एजेन्सी तथा मनी एक्सचेन्जमा प्रणाली लागू गरिएको छ । दोस्रो चरणमा उपत्यकाबाहिरका होटल, ट्राभल एजेन्सी तथा सम्बन्धित संस्थामा पनि विस्तार गर्ने तयारी भइरहेको अध्यागमन विभागले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्