काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई–मधेश क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो अघिल्ला दिनको तुलनामा केही मात्रामा आकाश खुल्ने अनुमान भए पनि पूर्ण रूपमा हुस्सु र कुहिरो हट्ने अवस्था भने छैन।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। यस्तै लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि तराई–मधेशका धेरैजसो स्थानमा हुस्सु कायमै रहने अनुमान गरिएको छ।
हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन्।
काठमाडौँ उपत्यकामा आज पनि हिजोजत्तिकै चिसो महसुस गरिएको छ। महाशाखाका अनुसार हिजो बिहान काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने आज बिहान ५ डिग्री सेल्सियस रहेको छ। यसअघि काठमाडौँमा यस वर्षको सबैभन्दा कम तापक्रम पुस १५ गते ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो।







