काठमाडौँ । भारतले प्रतिस्पर्धी दरमा भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) मार्फत ६५४ मेगावाट बिजुली आयात गर्न नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईएक्सको डे–अहेड तथा रियल टाइम मार्केट (आरटीसी मोड) बाट चौबिसै घण्टा बिजुली आयात गर्न अनुमति नवीकरण गरेको हो। यसअघि दिइएको अनुमतिको म्याद आज सकिँदै थियो।
नवीकरण गरिएको अनुमतिअनुसार नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्न पाउनेछ। प्राधिकरणले यही पुस १७ गतेदेखि आउँदो चैत १७ गतेसम्मका लागि प्रतिस्पर्धी दरमा बिजुली आयातको अनुमति पाएको जनाएको छ।
चैत १८ गतेदेखि भदौ १५ गतेसम्मको अवधि लागि अनुमति नवीकरण भने पछि गरिने प्राधिकरणको भनाइ छ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतको विद्युत् मन्त्रालयका अधिकारीसँग टेलिफोन संवाद गरी आरटीसी मोडमै बिजुली आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गर्नुभएको थियो।






