काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आउँदो फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीमुक्त चुनाव गराउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री अर्यालले चुनावको आवश्यक वातावरण बनाउन सरकार सर्वपक्षीय छलफलमार्फत् तयारी अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले देशभर शान्ति–सुरक्षा सुदृढ बनाउँदै लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न सरकार दृढ संकल्पका साथ अघि बढेको स्पष्ट पार्नुभयो ।
गृहमन्त्री अर्यालले पछिल्लो आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई मासिक भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै सुरक्षा निकायको मनोबल मजबुत बनाउने कामलाई पनि उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । आवधिक चुनावलाई सुशासनको आधार मानेर सरकार अघि बढिरहेको बताउँदै उहाँले सबै राजनीतिक दल र सरोकारवालालाई सहयोग र सहकार्यका लागि आह्वान गर्नुभयो ।
बैठकमा कोशी प्रदेशको शान्ति–सुरक्षा अवस्था, चुनावी तयारी तथा आवश्यक समन्वयका विषयमा छलफल भएको बताइएको छ ।






