आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं – आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गर्दै भारतबाट स्वदेश फर्किएको स्मृतिमा प्रत्येक वर्ष पुस १६ गते यो दिवस मनाउने गरिन्छ। वि.सं. २०३३ साल पुस १६ गते बीपी कोइरालाको नेतृत्वमा कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरू खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायतका नेता तथा कार्यकर्ताले झण्डै आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए।

भारत निर्वासनका क्रममा सिक्किम भारतमा विलय भएको घटनालाई नजिकबाट अवलोकन गरेका बीपी कोइरालालगायत नेताहरूले मुलुकको राष्ट्रियता कमजोर हुन नदिन एकता र मेलमिलाप अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले शाही ‘कु’ गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई झण्डै तीन महिना सिंहदरबारमा नजरबन्द गरिएको थियो। त्यसपछि उहाँलाई फागुन २६ गते सुन्दरीजल बन्दीगृहमा सारिएको थियो।

आठ वर्षपछि २०२५ सालमा उपचारका लागि रिहा भएका बीपी भारत पुगेर पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधिमा सक्रिय हुनुभएको थियो। त्यस समयमा भारत–पाकिस्तान विभाजन, सिक्किम विलयलगायत एशियामा देखिएका विखण्डनका घटनाले राष्ट्रिय एकता कमजोर हुनसक्ने चिन्ताका कारण उहाँले मेलमिलापको नीति अघि सार्नुभएको थियो। यही नीतिसहित ४९ वर्षअघि आजकै दिन उहाँसहितका नेता स्वदेश फर्किएका थिए।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूलाई पुनः सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो। बन्दीगृहमै रहँदा बीपी कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ उपन्यास, आत्मकथा ‘आफ्नो कथा’ तथा पछि ‘जेल जर्नल’का रूपमा प्रकाशित दैनिकी लेख्नुभएको थियो। यसअघि २००८ सालमै उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशित भइसकेको थियो। बीपी कोइराला नेपाली आख्यानमा यौन–मनोवैज्ञानिक धाराका प्रवर्तकका रूपमा परिचित हुनुहुन्छ।

मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेस तथा यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूले देशभर विविध कार्यक्रम आयोजना गरेका छन्। यसै अवसरमा बीपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रम गर्दैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्