रौतहट र नवलपरासी (दाउन्ने) क्षेत्रमा अवरुद्ध सडक खुलेको छ। हिजो बिहान ग्यास बोकेको ट्यांकर पल्टिएपछि करिब ११ घण्टा अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्ग गएरातिदेखि सञ्चालनमा आएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ मा ग्यास बोकेको बुलेट ट्यांकर सडकको बीच भागमै पल्टिएको थियो। क्रेनको सहयोगमा ट्यांकर हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ट्यांकरबाट ग्यास चुहिएको आशंकामा विज्ञमार्फत परीक्षण गरिएको थियो भने ट्यांकर हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो।
भारतबाट वीरगन्ज नाका हुँदै पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेटको ट्यांकर हिजो बिहान करिब साढे ७ बजे दुर्घटनामा परेको थियो। यस्तै, निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा शीतका कारण सडक चिप्लो हुँदा सवारी साधन सञ्चालनमा समस्या देखिएको थियो। चिप्लोपन कम गर्न सडकमा गिट्टी राखेर सवारी सञ्चालन गरिएको भए पनि सवारी जाम भने कायमै रहेको छ।
सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले यात्रु र चालकलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भइरहेकाले एकतर्फी रूपमा मात्र सडक सञ्चालन हुँदै आएको जनाएको छ। वैकल्पिक मार्गका रूपमा पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने सवारीलाई नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल निस्कन अनुरोध गरिएको छ। साथै कालीगण्डकी चोक (गैंडाकोट)–रामपुर–पिपलडाँडा हुँदै पनि सवारी सञ्चालन गर्न सकिने जनाइएको छ।
त्यस्तै काठमाडौँबाट बर्दघाट पश्चिमतर्फ जाने तथा बुटवल–काठमाडौँ यात्रा गर्ने सवारीलाई काठमाडौँ–मुग्लिङ–पोखरा मार्ग प्रयोग गर्न आयोजना निर्देशनालयले आग्रह गरेको छ।






