चुनावी वातावरण नबने संसद् पुनःस्थापना हुन्छ : अध्यक्ष ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियामा सहभागी हुन आफूहरू तयार भए पनि सरकारले आवश्यक वातावरण बनाउन नसकेको बताउनुभएको छ। चुनावको वातावरण नबने विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने उहाँको भनाइ छ। मदन–आश्रित स्मृति प्रतिष्ठानले एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजना गरेको ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठिमा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र संकटमा परेका बेला सर्वोच्च अदालतले समयमै न्याय दिन सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “समय घर्केपछि गरिएको फैसलाको अर्थ रहँदैन, मुलुक संकटमा पर्दा अदालतले समयमै न्याय गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले लोकतन्त्रमा निर्वाचनको विकल्प नभए पनि स्वस्थ निर्वाचनका लागि भयरहित वातावरण आवश्यक हुने उल्लेख गर्नुभयो। “राजनीतिक नेताहरूलाई लखेटेर निर्वाचन हुँदैन,” उहाँले भन्नुभयो। असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै त्यसको पुनःस्थापना आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले निर्वाचन नहुँदै प्रधानमन्त्रीको भागबण्डा गर्ने चर्चा निरर्थक भएको उल्लेख गर्नुभयो। “निर्वाचन सम्पन्न भए पनि काँग्रेस र एमालेविना सरकार बन्न सक्दैन,” उहाँले भन्नुभयो। प्रतिगमनतर्फ मुलुकलाई लैजाने षड्यन्त्र भए पनि एमाले र काँग्रेसजस्ता राजनीतिक शक्ति रहुन्जेल लोकतन्त्रमा आँच आउन नदिइने उहाँको दाबी थियो। लोकतन्त्र, नीति, विधि, संविधान र राष्ट्रिय स्वाभिमानका विषयमा काँग्रेस र एमालेबीच सहकार्य हुने पनि उहाँले बताउनुभयो।

अध्यक्ष ओलीले सम्पन्न ११औँ महाधिवेशनले नेतृत्वको लोकप्रियता र अलोकप्रियताका विषयमा व्यावहारिक जवाफ दिएको स्पष्ट पार्नुभयो। “यो महाधिवेशन अत्यन्तै सामयिक र अर्थपूर्ण छ। जनअनुमोदित, निरविवाद र अद्यावधिक नेतृत्वको टोली नेकपा (एमाले) सँग छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ११औँ महाधिवेशनले एमालेलाई विभाजन गर्न खोज्ने शक्तिलाई पराजित गरेको बताउनुभयो। “एमाले नेपालको राजनीतिक दलहरूमध्ये सबैभन्दा संगठित र सुव्यवस्थित दल हो भन्ने कुरा महाधिवेशनले पुष्टि गरेको छ,” उहाँले भन्नुभयो। महाधिवेशनले लोकतन्त्र पुनःस्थापना गर्ने सङ्कल्पसमेत गरेको उहाँको भनाइ थियो।

एमाले नेता रामेश्वर फुयाँलले देशमा विद्यमान गरिबी, पछौटेपन, शोषण र अभाव अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि मदन–आश्रित र बीपी कोइरालाका सपना पूरा गर्नुपर्ने उहाँको धारणा थियो। एमाले र काँग्रेसजस्ता शक्तिको सहकार्यबाट मात्र मुलुक समृद्ध बन्ने उहाँले बताउनुभयो।

कार्यक्रम मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्मा, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायतले सम्बोधन गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्