काठमाडौँ – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशका तीन स्थानमा रहेका यातायात व्यवस्था कार्यालयबाट कुल १२ करोड ५७ लाख ७० हजार ६५९ रुपैयाँ राजस्व उठाइएको छ। मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकबाट उक्त रकम सङ्कलन भएको जानकारी दिनुभयो।
सङ्कलित राजस्वमा चालक अनुमतिपत्र, सवारी दर्ता किताब (ब्लुबुक) सम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड–जरिवाना तथा जफत बापतको रकम समावेश रहेको छ।
कार्यालयगत रूपमा हेर्दा यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सबैभन्दा बढी ११ करोड ९ लाख २० हजार ७३९ रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी जुम्लाबाट ६५ लाख ४२ हजार ३१९ रुपैयाँ र चौरजहारीस्थित यातायात कार्यालयबाट ८३ लाख ७ हजार ६०१ रुपैयाँ राजस्व उठाइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो।
प्रदेश सरकारले यातायात कार्यालयमार्फत सङ्कलन हुने राजस्वको विवरण प्रत्येक महिना सार्वजनिक गर्दै आएको जनाएको छ।






