भक्तपुरमा सवारी दुर्घटना, दार्चुलाकी ३२ बर्षीय स्वस्तीकाको मृत्यु, उनका श्रीमान गम्भीर घाईते

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा मंगलबार ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

लोकन्थली चोक नजिकको सडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना ७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै गइरहेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुरमा बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन्। उनको भक्तपुरको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिए।

प्रहरीले ट्याङकर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्