काठमाण्डौ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्ने चुनावी खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम र दुर्गम जिल्लाको अवस्था हेरेर फरक–फरक खर्च सीमा निर्धारण गरेको हो। आयोगका अनुसार काठमाण्डौका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारले बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। यसअन्तर्गत काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १, ३, ६, ७ र ८ रहेका छन्।
यसैगरी, ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् भने २६ वटा निर्वाचन क्षेत्रमा यो सीमा ३३ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले बढीमा २९ लाख रुपैयाँ र १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा अनिवार्य रूपमा छुट्टै खाता खोल्नुपर्नेछ। सम्पूर्ण खर्च सोही खातामार्फत गर्नुपर्ने र उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारले गरेको खर्चको विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्नेछ। साथै, प्रतिनिधिसभा सदस्य ऐनअनुसार चुनाव परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्पूर्ण खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने आयोगले स्पष्ट पारेको छ।






