काठमाडौँ – भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठन गरिएको आयोगमा उपस्थित भएर पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगको सचिवालयले उपलब्ध गराएको लिखित धारणामा लेखकले प्रदर्शनका क्रममा बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको दाबी गरेका छन्। उनले भदौ २२ गते सुरक्षा समितिको बैठक बोलाई “कुनै हताहती नहोस्” भन्दै संयमता अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन्।
लेखकले जेन जेड आन्दोलनकारीको भेषमा आएका लोकतन्त्रविरोधी तत्त्वहरूले जेन जेडको शान्तिपूर्ण प्रदर्शनलाई “हाइज्याक” गरेको जिकिर गरेका छन्। उनले आयोगलाई बुझाएको जवाफमा गृहमन्त्रीले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा अधिकारीहरूको हातमै रहने स्पष्ट पार्दै गोली चलाउने वा बल प्रयोग गर्ने आदेश आफूले नदिएको बताएका छन्।
राज्यका प्रमुख अङ्गहरूमाथि भएको आक्रमणलाई लेखकले लोकतन्त्र समाप्त गर्ने सुनियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। घटनामा युवाहरूको ज्यान गएपछि आफू गहिरो रूपमा मर्माहत भई नैतिकताको आधारमा तत्काल राजीनामा दिएको कुरा पनि उनले स्मरण गराएका छन्।






