दार्चुला – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित देशकै सातौँ धामका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन मन्दिरमा शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन हुने भएको छ। धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञका लागि सोमबार औपचारिक रूपमा सचिवालय स्थापना गर्दै विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ। आयोजक समितिका अनुसार आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन हुनेछ।
आर्थिक व्यवस्थापन, संकलन तथा परिचालन समितिका संयोजक किसन सिंह सामन्तले महायज्ञलाई व्यवस्थित, पारदर्शी र सफल बनाउन आवश्यक संरचना तयार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवमा देशभरका श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। धार्मिक महोत्सव सञ्चालन समिति संयोजक दुर्गादत्त विष्टको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामी, उपाध्यक्ष कल्यान सिंह धामी, निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामी, प्रहरी, पत्रकार, जनप्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बैठकको निर्णयअनुसार आर्थिक व्यवस्थापन, संकलन तथा परिचालन समितिको संयोजकमा किसन सिंह सामन्त चयन हुनुभएको छ भने सदस्यमा किशोरराज विष्ट र जगदीशबहादुर पाल रहनुभएको छ। उक्त समितिले महायज्ञका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, संकलित रकमको व्यवस्थापन तथा पारदर्शी परिचालन गर्ने जिम्मेवारी लिनेछ। यसैगरी, यज्ञ, पूजा–पाठ तथा धार्मिक कर्मकाण्ड व्यवस्थापनका लागि मालिकार्जुन मन्दिरभित्र छुट्टै समिति गठन गरिएको छ। समितिले यज्ञशाला व्यवस्थापन, पूजाआजा, पाठ, हवन, प्रवचन तथा अन्य धार्मिक कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्नेछ। श्रद्धालु भक्तजनलाई सहज पूजा–दर्शनको व्यवस्था मिलाउने जिम्मेवारी पनि सोही समितिलाई दिइएको छ।
महायज्ञ तथा धार्मिक महोत्सवका क्रममा शिवपुराण कथा वाचन, भजन–कीर्तन, धार्मिक प्रवचन तथा विविध धार्मिक अनुष्ठानहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले मालिकार्जुन धामको धार्मिक महत्वलाई राष्ट्रियस्तरमा चिनाउने अवसरका रूपमा महायज्ञलाई लिइएको बताउनुभयो। उहाँले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउँदै सबै पक्षलाई सहकार्यका लागि आग्रह गर्नुभयो। उपाध्यक्ष कल्यान सिंह धामीले स्थानीय जनताको सक्रिय सहभागिता महायज्ञ सफलताको आधार हुने बताउनुभयो भने निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले महायज्ञले मालिकार्जुन धामको गरिमा अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजक समितिले महायज्ञलाई सभ्य, भव्य र मर्यादित ढंगले सम्पन्न गर्न सुरक्षा, स्वास्थ्य, सरसफाइ, आवास तथा यातायात व्यवस्थापनका लागि थप उपसमिति गठन गर्ने तयारी गरिरहेको जनाएको छ। साथै देश–विदेशमा रहेका मालिकार्जुन धामका भक्तजन, दातृ निकाय तथा धार्मिक संघसंस्थालाई सहयोग र सहभागिताका लागि आह्वान गरिएको छ। देशकै महत्वपूर्ण धार्मिक स्थल मालिकार्जुन धाममा आयोजना हुन लागेको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव सुदृढ गर्ने विश्वास गरिएको छ।






