काठमाडौँ – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसका अनुसार यसपटकको समानुपातिक सूचीमा विगतमा समानुपातिक सांसद भइसकेकालाई दोहोर्याइएको छैन। नयाँ र अवसर नपाएका व्यक्तिलाई प्राथमिकतामा राखेर सूची तयार गरिएको पार्टीको दाबी छ।
समानुपातिक बन्दसूचीमा पार्टी पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम पनि समावेश गरिएको छ। उनको नाम कोशी प्रदेशबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भई आएको थियो। भीष्मराज आङ्देम्बे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका वसन्त नेम्वाङसँग ४७ मतको अन्तरले पराजित भएका थिए। यसअघि २०७४ सालको निर्वाचनमा पनि उनी वसन्त नेम्वाङसँगै पराजित भएका थिए। लगातार दुईपटकको पराजय र जिल्लामा पार्टीभित्र उनको राजनीतिक आधार कमजोर बन्दै गएपछि उनले आदिवासी जनजाति कोटाबाट पहिलो नम्बरमा समानुपातिकतर्फ समेटिन प्रयास गरेका थिए।
कांग्रेसले यसपटकको समानुपातिक सूचीमार्फत पार्टीभित्र नयाँ सन्तुलन र समावेशितालाई प्राथमिकता दिएको जनाएको छ।






