शीतलहरका कारण सप्तरीमा केही विद्यालय बन्द

सप्तरी – केही दिनयता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरका कारण सप्तरी जिल्लामा जनजीवन प्रभावित बन्दै गएपछि विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। शीतलहरले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने जोखिम बढेपछि त्यसलाई मध्यनजर गर्दै जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले सूचना जारी गरी पुस १४ गतेदेखि १८ गतेसम्म पाँच दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले पालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको जानकारी दिनुभयो। यस्तै, राजगढ गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले जारी गरेको सूचनामा अत्यधिक चिसो र शीतलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै पाँच दिनका लागि बिदा दिने निर्णय गरिएको उल्लेख गर्नुभएको छ।

पालिकाहरूले जारी गरेको सूचनाअनुसार सोमबारदेखि शुक्रबारसम्म प्रशासनिक कार्य बाहेक नियमित पठनपाठन कार्य बन्द रहनेछ र उक्त बिदा वर्षे तथा हिउँदे बिदाबाट कट्टा हुने व्यवस्था गरिएको छ। सप्तरीमा विगत दुई सातादेखि चिसो बढ्दै गएको छ भने पछिल्ला चार दिनदेखि लगातार चलेको शीतलहरले जनजीवन प्रभावित बन्दै गएको छ। बिहान–बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने अवस्थाले बालबालिका, वृद्धवृद्धा तथा पशुचौपायासमेत प्रभावित भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्