काठमाडौं – नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
उहाँका अनुसार बैठकमा विभिन्न जिल्ला र प्रदेशबाट सिफारिस भई आएका समानुपातिक उम्मेदवारहरूको नामावली सुझावसहित पारित गरिएको छ। आवश्यक परेमा पार्टी अध्यक्षले उक्त नामावलीमाथि थप गृहकार्य गरेर निर्वाचन आयोगमा पठाउने निर्णयसमेत बैठकले गरेको भट्टले बताउनुभयो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे ब्रिफिङ गर्नुभएको जानकारी पनि उपमहासचिव भट्टले दिनुभयो।






