काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
यसअघि आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो। उक्त बैठकमा अन्य एजेन्डा स्थगित गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सांसदको सूची टुंग्याउने विषयमा प्रदेशगत छलफल गरिएको थियो।
आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सातै प्रदेशका केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग परामर्श भइरहेको र सोही आधारमा समानुपातिक सूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने जानकारी दिए। समानुपातिक प्रणालीबाट १ सय १० जना सांसद चयन हुने भएकाले सूची तयार पार्नु महत्वपूर्ण कार्य भएको उनले बताए।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलहरूले समानुपातिक बन्दसूची आयोगमा पेस गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।






