काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको सूची तयार पार्ने कामलाई तीव्रता दिएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेर पार्टी नेतृत्वले देशभरका प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै आएका सिफारिसहरूलाई क्लस्टरअनुसार मिलाउने छलफल र गृहकार्य गरिरहेको छ। कांग्रेसले यसअघि नै प्रदेश कार्यसमितिहरूलाई स्पष्ट मापदण्ड दिएर उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरका अनुसार समानुपातिक सूची बनाउँदा पहिले समानुपातिक सांसद भइसकेकालाई नदोहोर्याउने, युवा तथा अवसर नपाएकालाई अघि बढाउने जस्ता मापदण्ड अपनाइएको छ। “त्यही मापदण्डअनुसार सूची बनाउने काम भइरहेको छ,” उनले बताए।
समानुपातिक सूची निर्माणमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, केही केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूबीच निरन्तर परामर्श भइरहेको छ। प्रदेश सभापतिहरूले आफ्ना प्रदेशमा रहेका केन्द्रीय सदस्यसँगको समन्वयमा तल्लो तहबाट आएका सिफारिसमध्येबाट उम्मेदवार छनोट गरिरहेका छन्।
नेताहरूका अनुसार समानुपातिक उम्मेदवार तय गर्ने विषयमा पार्टीभित्र चरणबद्ध छलफल र गुटगत गृहकार्य पनि भइरहेको छ। सभापति देउवा पक्षले आमन्त्रित रूपमा भन्दै समानुपातिक सूचीसम्बन्धी बैठकमा केन्द्रीय सदस्यहरूलाई सहभागी गराइरहेको स्रोतको भनाइ छ। कोशीबाट ज्ञानेन्द्रबहादुर कार्की, मधेसबाट सहमहामन्त्री महेन्द्र यादव, बागमतीबाट प्रवक्ता प्रकाशशरण महत, गण्डकीबाट मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, लुम्बिनीबाट बालकृष्ण खाण र कर्णालीबाट जीवनबहादुर शाहीलगायत नेताहरू बैठकमा सहभागी हुँदै आएका छन्।
यद्यपि, समानुपातिक सूचीसम्बन्धी छलफलमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने कम उपस्थित देखिएका छन्। महाधिवेशन नभएसम्म आफू चुनाव नलड्ने गगन थापाको अडान छ भने नयाँ पुस्तालाई अवसर दिन आफू चुनाव नलड्ने विश्वप्रकाश शर्माको भनाइ छ। नेता शेखर कोइराला भने समन्वयकारी भूमिकामा रहेको नेताहरूले बताएका छन्।
लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुन मगरले समानुपातिक सूची बनाउने क्रममा पार्टीले प्रदेश कार्यसमितिसँग पनि परामर्श गरिरहेको जानकारी दिए। कांग्रेसमा टिकट बाँडफाँटको जिम्मा सभापति देउवाको नेतृत्वमा रहेको संसदीय समितिलाई दिइएको छ, जसमा प्रदेश सभापतिहरू आमन्त्रित सदस्यका रूपमा रहने व्यवस्था छ।
उनका अनुसार अवसर नपाएका, भूगोलको समेट र क्षमतावान व्यक्तिलाई प्राथमिकता दिने मापदण्डअनुसार क्षेत्र, जिल्ला र प्रदेशको सन्तुलन मिलाएर क्लस्टरअनुसार सूची बनाइँदैछ।
कांग्रेसमा १४ जना पदाधिकारी रहे पनि हालसम्म कोही पनि पदाधिकारी समानुपातिकमा बस्ने निश्चित भइसकेको छैन। एक नेताका अनुसार कोषाध्यक्ष चितवनबाट समानुपातिकमा सिफारिस भए पनि पदाधिकारीमध्ये को–को सूचीमा पर्ने भन्ने टुंगो लागिसकेको छैन। महामन्त्री विश्वप्रकाश शर्माले भने समानुपातिकतर्फ पनि उम्मेदवार नहुने स्पष्ट गरिसकेका छन्।
यसैबीच, पार्टीभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले समानुपातिक सूची बनाउँदा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको भावनालाई बेवास्ता गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। पुसभित्रै विशेष महाधिवेशनको माग अटेर गरिए समानुपातिकतर्फ उम्मेदवारी नदिने विकल्पसमेत अपनाउन सकिने उनीहरूको चेतावनी छ।
कांग्रेसले यसअघि मंसिरभित्रै प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा निर्वाचनका लागि तल्ला तहबाट उम्मेदवार सिफारिस माग गरेको थियो। सिफारिस चाँडै आए पनि समानुपातिक सूची भने ढिलो गरी तयार भइरहेको छ। तल्ला तहबाट युवाहरूको नाम पनि समानुपातिकतर्फ सिफारिस भएर आएको भए पनि अन्तिम सूचीमा युवाहरूले कति स्थान पाउँछन् भन्ने अझै यकिन भइसकेको छैन।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची बुझाउन आज र भोलि समय तोकेको छ।






