काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ अनुसार सो व्यवस्था लागू गरिएको हो। आचारसंहिता उल्लङ्घन गरी दुईभन्दा बढी सवारी साधन प्रयोग गरे कारबाही हुने आयोगले जनाएको छ।
स्वीकृत आचारसंहितामा भनिएको छ, “निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार रहेको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन प्रयोग गर्न सकिनेछ। सवारी साधन नचल्ने स्थानमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ।”
आचारसंहिताअनुसार राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले चुनावी प्रचारमा प्रयोग गर्ने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नहुने व्यवस्था गरिएको छ।
त्यस्तै, एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नपाइने स्पष्ट गरिएको छ। “कुनै दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नहुने” उल्लेख गर्दै आयोगले आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।






