काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताको कडा शब्दमा आलोचना गरेका छन्। उनले उक्त सम्झौता ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेपलाई संस्थागत गर्न’ गरिएको आरोप लगाएका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले, “कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि,” भन्दै विदेशी प्रभाव नेपालमा प्रत्यक्ष महसुस भइसकेको र अब त्यसलाई संस्थागत गर्न खोजिएको दाबी गरेका छन्।
यद्यपि उनले आफ्नो अभिव्यक्तिमा रवि लामिछाने र बालेन शाहको नाम स्पष्ट रूपमा नलिएको भए पनि टिप्पणी उनीहरू लक्षित रहेको प्रस्ट देखिन्छ। साम्पाङले विशेषगरी बालेन शाहलाई लक्षित गर्दै जेन–जी आन्दोलनको समय र देश अशान्त बन्दै जाँदा चुपचाप बसेको आरोप लगाएका छन्। उनले बालेनलाई ‘भित्र–भित्र बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने व्यक्ति’ को संज्ञा दिएका छन्।
“जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ। जेन–जीलाई उक्साएर लड्न–भिड्न पठाउँछ। ७०–८० जना हताहत हुन्छन्। देश खरानी भएको टुलुटुलु हेरेर बस्छ। बाहिर आउँदैन। सरकार चलाइदिनुपर्यो भनेर अनुरोध गर्दा पनि आउँदैन,” साम्पाङले भिडियो सन्देशमा भनेका छन्। यसैगरी उनले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सन्दर्भ जोड्दै रवि लामिछानेलाई लक्षित टिप्पणीसमेत गरेका छन्, जसले वैकल्पिक राजनीतिक शक्तिहरूबीचको टकराव थप चर्किएको संकेत गरेको छ। रवि–बालेन सम्झौतापछि उत्पन्न राजनीतिक प्रतिक्रियाले आगामी दिनमा वैकल्पिक राजनीतिभित्रको बहस र ध्रुवीकरण अझ तीव्र हुने देखिएको छ।






