काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई आवश्यक परेको जस्तो हुनुपर्ने बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग आज बिहान सात बुँदे सम्झौता भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्। उनले सहमति व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय आवश्यकता र जनअपेक्षामा आधारित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने नै रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह रहने सहमति भएको छ।
बालेन शाह रास्वपामा आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने सहमति गरिएको छ। यसअघि प्रयोग हुँदै आएको निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी अंकित झण्डा र ‘घण्टी’ चुनाव चिह्न कायम रहने जनाइएको छ।
सम्झौतापत्रमा लामिछाने र शाह दुवैले आ–आफ्नो पदीय हैसियत उल्लेख नगरी नाममात्रै लेखी हस्ताक्षर गरेका छन्। सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी विषयवस्तु उल्लेख भए पनि रवि लामिछानेको नाम मात्र समावेश गरिएको छ भने पद उल्लेख गरिएको छैन।
यस सहमतिलाई वैकल्पिक राजनीतिमा नयाँ मोडका रूपमा हेरिएको छ भने आगामी निर्वाचनको राजनीतिमा यसको प्रभाव चासोका साथ हेरिएको छ।






