रवि लामिछाने सभापति रहने, बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमा रवि लामिछाने नै रहने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको दाबी गरिएको छ। सहमतिसँगै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले अघि सारेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।

सहमति सार्वजनिक गर्दै रवि लामिछानेले, “सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ,” भन्ने धारणा राखेका छन्। उनले गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयनको मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने लक्ष्यमा समर्पित रहने उल्लेख गरेका छन्।

सहमतिको मुख्य बुँदामा बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङ्गको घण्टी रहने र चुनाव चिन्ह ‘घण्टी’ कायम रहने उल्लेख छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ।

यस्तै, बृहत् एकतापछि पार्टी संगठनलाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको समुचित समायोजन गरिने, जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने जनाइएको छ। आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौताअनुसार पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने पनि सहमतिमा उल्लेख छ।

सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आव्हान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्