काठमाडौँ । गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित अनमोल ब्याङ्केटमा आयोजित साधारण सभामा नेपाल राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रशान्त ढकालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान आर्थिक मन्दीका बाबजुद संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको बताउनुभयो। उहाँका अनुसार सहकारीको शेयर पूँजी, निक्षेप संकलन तथा कर्जा लगानीमा निरन्तर वृद्धि भएको छ।

सभामा लेखा समितिका तर्फबाट संयोजक ज्योती श्रेष्ठले लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा सहकारीका आर्थिक कारोबारहरू नियम, विधि र सहकारी सिद्धान्तअनुसार सञ्चालन भइरहेको उल्लेख गर्दै पारदर्शिता र वित्तीय अनुशासनलाई प्राथमिकता दिइएको जानकारी गराइएको थियो। सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। साथै लेखापरीक्षक नियुक्ति, निष्क्रिय शेयर सदस्यसम्बन्धी विषय, लाभांश वितरण र कर्मचारी बिदासम्बन्धी प्रस्तावहरू पनि पारित भएका छन्।

साधारण सभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत एक दर्जनभन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरेको छ। कार्यक्रममा जेष्ठ नागरिकहरूको योगदानको कदर गर्दै दोसल्ला, सम्मानपत्र तथा कदरपत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि बुद्धराज शर्माले सहकारी क्षेत्रलाई राष्ट्रको आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै सुशासन, पारदर्शिता र सदस्यको विश्वास नै सहकारीको मुख्य शक्ति भएको बताउनुभयो।
साधारण सभामा शेयर सदस्यहरू, सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सदस्य तथा नेरीक एकेडेमीका प्रिन्सिपल समेत रहेका मिलन केसीले गर्नुभएको थियो ।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको आर्थिक अवस्था स्थिर र सुदृढ बन्दै गएको देखिएको छ । आ.व. २०८१/८२ को यथार्थ विवरणअनुसार संस्थाको शेयर पूँजी करिब २ करोड ८२ लाख २५ हजार ७ सय रुपैयाँ पुगेको छ भने आगामी आवको लागि प्रस्तावित ३ करोड रुपैयाँ रहेको छ । यसैगरी अन्य कोषहरू समेत समेट्दा संस्थाको कुल पूँजी संरचना बलियो बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । सहकारीले सदस्यहरूको विश्वास कायम राख्दै नियमित बचत संकलन र सुरक्षित कर्जा प्रवाहलाई प्राथमिकतामा राखेको जनाएको छ ।
निक्षेपतर्फ हेर्दा आ.व. २०८१/८२ मा संस्थामा जम्मा भएको कुल निक्षेप करिब ४४ करोड १७ लाख १६ हजार ३ सय ६५ रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षमा निक्षेप संकलनमा वृद्धि हुँदै गएकाले आगामी आ.व. २०८२/८३ मा निक्षेप रकम करिब ५० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ । यसले संस्थाको तरलता अवस्था सन्तोषजनक रहेको र कर्जा विस्तारका लागि आवश्यक आधार तयार भएको देखाउँछ ।

सम्पत्तिको पक्षमा बैंक तथा नगद मौज्दात, ऋण लगानी, शेयर लगानी र स्थिर सम्पत्तिमा संस्थाको लगानी उल्लेख्य रहेको छ । विशेषगरी कर्जा लगानी सहकारीको मुख्य आम्दानी स्रोतका रूपमा रहेको छ । आ.व. २०८१/८२ मा कर्जा लगानी करिब ३३ करोड ३३ लाख ९० हजार ३१३ रुपैयाँभन्दा बढी रहेकोमा आगामी आ.व. २०८२/८३ मा यसलाई बढाएर करिब ४५ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ । यससँगै शेयर लगानी र स्थिर सम्पत्तिमा समेत क्रमिक रूपमा वृद्धि गर्ने योजना रहेको छ ।
आम्दानी–खर्च विवरणअनुसार आ.व. २०८१/८२ मा सहकारीले व्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमार्फत उल्लेख्य आम्दानी आर्जन गरेको छ । व्याज आम्दानी सहकारीको प्रमुख स्रोतका रूपमा रहेको छ भने अन्य सञ्चालन आम्दानीले पनि संस्थाको वित्तीय सन्तुलनमा योगदान पुर्याएको छ । आगामी आ.व. २०८२/८३ का लागि कुल आम्दानी करिब ५२ लाख ८३ हजार ८०५ रहेको छ ।
खर्चतर्फ भने व्याज खर्च, सञ्चालन, व्यवस्थापन तथा कर्मचारी खर्च मुख्य शीर्षकका रूपमा रहेका छन् । आ.व. २०८२/८३ मा कुल खर्च करिब ४ करोड ७५ लाख रुपैयाँ अनुमान गरिएको छ । खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आम्दानी र खर्चबीच सन्तुलन कायम गर्ने रणनीति संस्थाले अवलम्बन गर्ने जनाएको छ ।







