काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको समूहबीच आज हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। गएराति अबेरसम्म भएको दुईपक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको शक्ति बाँडफाँडको प्रस्ताव राखेपछि वार्ता निष्कर्षविहीन बनेको हो।
हिजोको वार्तामा सहमति जुट्न नसकेपछि बालेनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग छलफल गरेर पुनः वार्तामा बस्ने बताउनुभएको थियो। तर, आजसम्म पनि उक्त वार्ता अघि बढ्न सकेको छैन।
बालेन र रास्वपा सभापति रवि लामिछानेलाई एक ठाउँमा ल्याउने उद्देश्यसहित मस्यौदा तयार गर्ने जिम्मेवारी रास्वपाबाट शिशिर खनाल र असिम शाह तथा बालेन पक्षबाट कुमार बेन र भूपदेव शाहलाई दिइएको थियो। तर, शक्ति बाँडफाँडको विषयमा सहमति नजुटेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ।
यसैबीच उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङले पार्टी एकताका विषयमा नागरिकको चाहना पनि निर्णायक हुने बताएका छन्। उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले रास्वपातर्फ संकेत गर्दै आफूहरूसँग पार्टीगत संरचना कमजोर भए पनि जनताको विश्वास बलियो रहेको दाबी गर्नुभयो।
एउटै पार्टी निर्माण सम्भव नभए सरकार सञ्चालनका लागि सहकार्य गर्दै अघि बढ्न सकिने घिसिङको भनाइ छ।






