फागुन २१ को प्रतिनिधिसभा चुनावमा जान प्रमुख दल तयार

काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

दलहरूले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाउनुका साथै प्रधानमन्त्रीबाट शान्ति–सुरक्षाको ग्यारेन्टी गर्ने आश्वासन प्राप्त भएकाले अब निर्वाचन हुने–नहुने भन्ने अन्योल समाप्त भएको मन्त्री खरेलको भनाइ छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो। नवयुवा आन्दोलनपछि उहाँहरू तीनै जना पहिलोपटक बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नुभएको हो।

प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका ठूला दलका शीर्ष नेताहरूलाई जसरी पनि निर्वाचन सफल पार्न आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो।

लामो समयदेखि शीर्ष तहमा देखिएको संवादहीनतालाई अन्त्य गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गएको मङ्गलबार प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल आयोजना गरेपछि निर्वाचनसम्बन्धी संवादले तीव्रता पाएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्