काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु स्वाभाविक र सकारात्मक भए पनि पछिल्लो समय देखिएका एकताको प्रयासहरू विचारका आधारमा हुन् कि स्वार्थका आधारमा भन्ने प्रश्न अझै यथावत् रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै ज्ञवालीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट सिंहदरबार पुग्ने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो।’ तर यस्ता भेटघाटलाई लिएर अनावश्यक रूपमा ठूलो तरङ्ग सिर्जना गर्न खोजिएको उनको भनाइ छ।
उनले यस्ता प्रयासलाई अतिरञ्जित गर्दै देश नबन्नुको कारण केही व्यक्तिहरू नमिलेको जस्तो भ्रम फैलाउन खोजिएको टिप्पणी गरेका छन्। दक्षिण भारतीय चलचित्रको उदाहरण दिँदै उनले भनेका छन्, ‘कुनै नायक मञ्चमा उत्रेर खुट्टा बजार्छ, तुफान आउँछ र सबै खलनायकहरू सोतर हुन्छन् भन्ने जस्तो कथा बनाइँदै छ।’
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच देखिएको पार्टी एकता प्रयासतर्फ संकेत गर्दै ज्ञवालीले यस्तो मिलनले ‘तारणहार’ जन्माएर देशले मुक्ति पाउँछ भन्ने भ्रम फैलाइएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘यस्तो तिलस्मी तत्त्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन।’
देश निर्माण व्यक्तिविशेषमा मात्र निर्भर नहुने स्पष्ट पार्दै उनले विचार, संस्था, प्रणाली र सामूहिकताबाट मात्र मुलुक अघि बढ्ने बताए। शासन प्रणाली, आर्थिक नीति, सामाजिक प्रबन्ध, भूराजनीतिक चुनौती, जलवायु परिवर्तन, संविधानका संरक्षण र परिमार्जनजस्ता विषयमा स्पष्ट विकल्प आवश्यक रहेको उनको भनाइ छ।
‘यावत् प्रश्नमा कुनै विकल्प देखिँदैन, देखिन्छ त केवल नकारात्मकता, निषेध र घृणा,’ उनले उल्लेख गरेका छन्।
अन्त्यमा ज्ञवालीले घोडा पानीदार हो कि होइन भन्ने टुंगो लामो दौडपछि मात्र लाग्ने भन्दै अत्यधिक अपेक्षाबाट हुने स्वप्नभङ्ग पीडादायी हुन सक्ने चेतावनीसमेत दिएका छन्।






