प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनबारे छलफल हुने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनको विषयमा छलफल हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा यसअघि शीतल निवासमा भएको भेटवार्ताको निरन्तरतास्वरूप प्रधानमन्त्री कार्कीले आज दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन्।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी निर्वाचनको अनुकूल वातावरण बनाउन आग्रह गरेका थिए। मन्त्री खरेलले आज शनिबार अपराह्न ४ बजे प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच भेटवार्ता र छलफल हुने कार्यक्रम तय भएको जानकारी दिएका छन्।

यसअघि सञ्चारमन्त्री खरेल र कानुनमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न राजनीतिक दलका कार्यालयको स्थलगत अनुगमन गरेका थिए। पुस ८ र ९ गते एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा र जनमत पार्टीलगायतका कार्यालयमा पुगेर अनुगमन तथा नेताहरूसँग छलफल गरिएको थियो। स्थलगत अनुगमनपछि मन्त्री खरेलले प्रमुख दलका शीर्ष नेताहरूको निवासमै पुगेर भेटघाट गर्दै निर्वाचनको वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका हुन्।

सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहेको भए पनि केही दलहरूले शान्ति सुरक्षा लगायत विषयमा प्रश्न उठाउँदै आएका छन्। विशेषगरी नेकपा एमालेले निर्वाचन वातावरणप्रति चासो व्यक्त गरिरहेका बेला सरकारका मन्त्रीहरू दलका नेतासँग संवाद र समन्वयमा सक्रिय देखिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्