काठमाडौँ – निर्वाचन आयोगले आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनेको जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनावका लागि आवश्यक वातावरण तयार भइसकेको आयोगको निष्कर्ष रहेको जानकारी दिनुभयो।
आयोगले निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्न आज मिडिया सेन्टर स्थापना गरेको छ। यस अवसरमा सहसचिव भट्टराईले २०७९ को निर्वाचनको तुलनामा यसपटक १० लाखभन्दा बढी मतदाता थपिएको, ११४ राजनीतिक दल चुनावमा सहभागी हुने तथा मतदान स्थल र केन्द्रको सङ्ख्या पनि बढेको जानकारी दिनुभयो।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग चुनावको तयारीमा धेरै अगाडि बढिसकेको उल्लेख गर्दै घोषित मितिमै निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो। उहाँले चुनावको विकल्प चुनाव बाहेक केही नहुने स्पष्ट पार्दै अब निर्वाचनको बाटोबाट फर्किन नसक्ने अवस्थामा आयोग पुगेको बताउनुभयो।






