चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (भिडियो रिपोर्ट सहित)

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ। सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस १३ गतेसम्म सञ्चालन हुनेछ।

शुक्रबार आयोजित उद्घाटन समारोह बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले उद्घाटन गरेका हुन्। कार्यक्रममा पर्यटन, वन तथा वातावरण क्षेत्रका सरोकारवाला, स्थानीय व्यवसायी, पर्यटन उद्यमी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु हो। हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलहरूको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ। पर्यटक आकर्षित गर्न महोत्सवकै अवसरमा सौराहाका होटल तथा रेष्टुरेन्टहरूले खाना तथा आवास सेवामा विभिन्न छुटको व्यवस्था गरेका छन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले हात्ती केवल जनावर मात्र नभई नेपालको संस्कृति, इतिहास र पहिचानको अभिन्न अंग भएको उल्लेख गरे। उनले नेपाललाई विश्वमा केवल प्राकृतिक सौन्दर्यले भरिएको देशका रूपमा बुझ्ने धारणा अपूरो रहेको बताउँदै हात्ती नेपालको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको विषय भएको स्पष्ट पारे।

सीईओ जोशीले हात्ती महोत्सव पर्यटन प्रवर्द्धनसँग जोडिने सशक्त माध्यम भएको बताउँदै हात्ती संरक्षण तथा संख्या वृद्धि गर्न पर्यटन बोर्डले दीर्घकालीन रोडम्यापसहित नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख गरे। साथै, रिजेनेरेटिभ टुरिजमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाउँदै पर्यटन क्षेत्रका सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

महोत्सव अवधिभर विविध सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। पहिलो दिन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट शोभायात्रा निकालिएको थियो भने हात्तीको पेनाल्टी सुटआउट प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति गरिएको छ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले व्यवसायीका समस्या बुझेर सहरकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। उनले जेन्जी आन्दोलनपछि केही व्यवसायीमा सौराहा पर्यटकीय क्षेत्र असुरक्षित हो कि भन्ने भ्रम परेको उल्लेख गर्दै सौराहा पूर्ण रूपमा सुरक्षित रहेको र कुनै समस्या नआउनेमा ढुक्क हुन आग्रह गरे। साथै मन्त्री श्रेष्ठले प्रदेश सरकार पर्यटन क्षेत्रमा लगानी गर्नसमेत तयार रहेको स्पष्ट पार्दै पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

दोस्रो दिन मङ्गलधुनसहित प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्ती स्वास्थ्य शिविर, अन्तरक्रिया कार्यक्रम, डुङ्गा दौड, थप खेलकुद प्रतियोगिता तथा लोकदोहोरीसहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। त्यस्तै, महोत्सवको अन्तिम दिन हात्ती पूजा, हात्ती बनभोज कार्यक्रम, विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन, पुरस्कार तथा प्रशंसापत्र वितरण र औपचारिक समापन समारोह आयोजना गरिनेछ।

आयोजकका अनुसार हात्ती तथा पर्यटन महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणसम्बन्धी सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्