काठमाडौँ – काठमाडौँको मध्यवानेश्वरस्थित भ्याली भ्यू स्कूलले विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय सहभागी गराउँदै खेल सप्ताह मनाएको छ। ४ पुसदेखि सुरु भएको खेल सप्ताहमा मन्टेश्वरीदेखि कक्षा ९ सम्मका करिब १ हजार ६ सय विद्यार्थी सहभागी भएका थिए। विद्यालयका चारवटा सदनबाट सहभागी विद्यार्थीलाई उनीहरूको रुचिअनुसार विभिन्न खेलकुदमा सहभागी गराइएको थियो। खेल सप्ताहअन्तर्गत फुटसल, कबड्डी, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, क्यारेम बोर्ड, रुबिक क्युब, कक फाइट, स्पुन एन्ड मार्बल रेस, मेन्टल म्याथ रेसलगायतका खेलहरू सञ्चालन गरिएका थिए।
विद्यालयका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले विद्यालयले हरेक वर्ष खेलकुद गतिविधि आयोजना गर्दै आएको बताउँदै यसले विद्यार्थीको अन्तर्निहित प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताए। उनका अनुसार खेल सप्ताहको उद्देश्य विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउने, मनोरञ्जन प्रदान गर्ने र उनीहरूमा लुकेका क्षमता पहिचान गर्नु हो। “विद्यार्थीहरूमा पढाइसँगै विभिन्न कला र क्षमता लुकेका हुन्छन्। ती क्षमता पहिचान गर्न, खेलकुदप्रतिको रुचि बढाउन र सिकाइमा सकारात्मक परिवर्तन ल्याउन हामीले खेल सप्ताह आयोजना गरेका हौँ,” प्रधानाध्यापक भण्डारीले भने, “यसले भविष्यमा देशका लागि खेलाडी उत्पादन गर्नसमेत टेवा पुग्ने हाम्रो विश्वास छ।”
सदनअनुसार प्रत्येक खेलमा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा मेडल प्रदान गरिएको विद्यालयले जनाएको छ। यस वर्षको खेल सप्ताहमा मन्टेश्वरीदेखि कक्षा पाँचसम्म हेलेन सदन र कक्षा ६ देखि ९ सम्म टेरेसा सदन विजेता बनेका छन्। खेल सप्ताहको अन्तिम दिन शुक्रबार आयोजित पुरस्कार वितरण समारोहमा भलिबलका पूर्व राष्ट्रिय खेलाडी जगदीशप्रसाद भट्ट प्रमुख अतिथि रहेका थिए। उनले विद्यार्थीलाई मेडल तथा पुरस्कार प्रदान गर्दै विद्यालयस्तरका यस्ता खेलकुद गतिविधिले विद्यार्थीको क्षमता जाँच्न र खेलकुद यात्राको सुरुआत गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
“विद्यालयमा आयोजना हुने यस्ता प्रतियोगिताले विद्यार्थीको खेलकला र प्रतिभा प्रदर्शन गर्ने अवसर दिन्छ,” उनले भने, “यहाँबाटै कुनै विद्यार्थीको खेलकुद जीवनको यात्रा सुरु हुन सक्छ। खेलकुदमा सिकेका सीप र अनुशासन समाज र राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्छ।”






