काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी बीच पुनः एकता हुने भएको छ। गत भदौमा विभाजन भएको यी दुई पार्टीबीच शनिबार औपचारिक रूपमा एकता हुने तय भएको हो।
नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेपछि रेशम चौधरीले भदौ २९ गते पार्टीबाट अलग हुने घोषणा गरेका थिए। त्यसपछि कात्तिक २ गते चौधरीले आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए।
नागरिक उन्मुक्ति पार्टी नेपालले यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी एकता गर्दै एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने सहमति गरिसकेको छ।
यही बीचमा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागेको हो। श्रेष्ठले एकता प्रक्रिया अघि बढेको पुष्टि गर्दै भनिन्, “केही कारणले उहाँहरू पार्टी छाडेर जानुभएको थियो, फेरि मैले प्रयास गरेर मिलाएको हुँ।”
एकतापछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने, साथै झन्डा र चुनाव चिन्ह पनि सोही पार्टीको प्रयोग हुने सहमति भएको बताइएको छ। पार्टीका उपाध्यक्ष अब्दुल खानले दुई पार्टीबीच एकता तय भइसकेको जानकारी दिए।
रेशम चौधरी जेलमा रहेका बेला २०७८ पुसमा रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। पार्टीले २०७९ को निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको थियो। चौधरी २०८० जेठमा रिहा भएपछि पार्टी थप सक्रिय बनेको थियो।
तर २०८० पुसमा सम्पन्न महाधिवेशनपछि पार्टीमा आन्तरिक विवाद चर्किएको थियो। महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष चयन भएपछि रञ्जिता श्रेष्ठ असन्तुष्ट बनेकी थिइन्। अध्यक्ष पदमा दाबी गर्दै उनी महाधिवेशनस्थल छाडेर काठमाडौँ फर्किएपछि विवाद सार्वजनिक रूपमा उग्र बनेको थियो।
यद्यपि निर्वाचन आयोगले अध्यक्षका रूपमा रञ्जिता श्रेष्ठलाई नै मान्यता दिएपछि पार्टीभित्र गुटगत राजनीति झन् गहिरिँदै गएको थियो। यही विवादका कारण सुदूरपश्चिम प्रदेशमा पार्टीले मुख्यमन्त्री पाउने सम्भावना गुमाउनुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो।
केन्द्रीय समिति बैठकसमेत गुटगत रूपमा सञ्चालन हुन थालेपछि पार्टी पूर्ण रूपमा विभाजित अवस्थामा पुगेको थियो। अन्ततः निर्वाचन आयोगबाट मान्यता नपाएपछि रेशम चौधरीले अलग भएर नयाँ पार्टी गठन गरेका थिए।
पाँच महिनापछि अहिले पुनः रञ्जिता श्रेष्ठ र रेशम चौधरी नेतृत्वका पार्टीबीच एकता हुन लागेको हो। यसलाई नागरिक उन्मुक्ति आन्दोलनको राजनीतिक भविष्यका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।






