काठमाडौँ – अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा १०औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुने भएको छ। हरेक वर्ष नियमित रूपमा शैक्षिक क्यालेन्डरमा समावेश गरी आयोजना हुँदै आएको अर्किड कपको यो १०औँ संस्करण हो।
प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत तथा १३ वर्ष उमेर ननाघेका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने छन्। प्रतिस्पर्धामा उत्कृष्ट चार स्थान हासिल गर्ने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी, गोलकिपर, सर्वाधिक गोलकर्ता लगायतका विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीहरूलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।
अर्किड प्युपल सेकेन्डरी स्कुलका संस्थापक प्रेमकुमार भुजेलका अनुसार शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउँदै चौतर्फी विकास गराउने उद्देश्यले विद्यालयले खेलकुदसहित विभिन्न सिर्जनात्मक गतिविधि निरन्तर आयोजना गर्दै आएको छ।
फागुन १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरू काठमाडौँको गोठाटारस्थित अर्किडको आफ्नै खेलमैदानमा आयोजना हुनेछन्। विद्यालयस्तरीय फुटबल प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।






