काठमाडौँ उपत्यकामा चिसो बढ्यो, तराईमा हुस्सु र कुहिरो

File Photo

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ। हिजो बिहान बादल लागेकाले चिसो केही कम महसुस भएको थियो भने आज आकाश खुला रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेकोमा आज घटेर ५.४ डिग्री सेल्सियस पुगेको छ। देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ। यस्तै, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो पनि तराई भूभागका धेरै ठाउँमा हुस्सु र कुहिरो रहिरहने महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा बिहान केही समय र बाँकी तराई क्षेत्रमा मध्यान्नसम्म कुहिरो लाग्ने सम्भावना रहेको छ।

तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्