काठमाडौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले पदबाट राजीनामा दिएका छन्। उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पठाएको राजीनामा पत्रमार्फत नेपाली क्रिकेटको सेवा गर्न पाएको अवसरलाई सम्मान र गौरवको विषय भएको बताएका छन्। राजीनामा पत्रमा कटुवालले नेपाली महिला टोलीसँग काम गर्नु आफ्नो व्यावसायिक जीवनका सबैभन्दा अर्थपूर्ण अध्यायहरूमध्ये एक रहेको उल्लेख गरेका छन्। साथै, उनले आफ्नो कार्यकालभरि सहयोग, विश्वास र साथ प्रदान गर्ने क्यान, सहयोगी प्रशिक्षक टोली, खेलाडी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
कटुवालले आफ्नो प्रशिक्षण अवधिमा खेल प्रदर्शनसँगै अनुशासन, मानसिक मजबुती र नेपाली महिला क्रिकेटको दीर्घकालीन विकासमा विशेष ध्यान दिइएको जनाएका छन्। टोलीको भविष्यका लागि नयाँ नेतृत्व अन्तर्गत अघि बढ्नु उपयुक्त हुने विश्वासका साथ आफूले पद छोड्ने निर्णय लिएको पनि उनले स्पष्ट पारेका छन्।
भविष्यमा पनि नेपाली महिला क्रिकेटका समर्थकका रूपमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै, महिला क्रिकेटको विकासमा योगदान दिन पाएकोमा आभार व्यक्त गरेका छन्। साथै, आफ्ना प्रयासले केही सकारात्मक मूल्य थपिएको आशा समेत व्यक्त गरेका छन्।






