नेपाल टेलिकमले एफटीटीएच इन्टरनेटमा वाइफाई ६ प्रविधि सुरु गर्ने

काठमाडौँ । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउँदै वाइफाई ६ राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ। यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा प्रदान गरिनेछ।

यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउने जनाएको छ। नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या समाधान हुने र इन्टरनेट स्पिडसमेत उल्लेख्य रूपमा वृद्धि हुने टेलिकमले जनाएको छ।

वाइफाई ६ प्रविधिले धेरै डिभाइस एकैपटक कनेक्ट गर्न, सबै प्रयोगकर्तालाई समान गतिमा इन्टरनेट उपलब्ध गराउन, डाटा ट्रान्सफरलाई छिटो बनाउन, डिभाइसको ब्याट्री लाइफ बढाउन तथा सुरक्षित र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने टेलिकमको भनाइ छ।

ग्राहकका लागि वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध गराइनेछ। इन्डिभिजुअल प्याकेज अन्तर्गत (१) इन्टरनेट र टेलिफोन, (२) इन्टरनेट, बेसिक एनटीटीभी र टेलिफोन, तथा (३) इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेजमध्ये कुनै एक रोज्न सकिनेछ। त्यस्तै, प्रिमियम प्याकेज अन्तर्गत (१) प्रिमियम इन्टरनेट मात्र, (२) प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी, तथा (३) प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी प्याकेज उपलब्ध रहनेछन्।

यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमतामा उपलब्ध हुनेछन् भने मोबाइलका लागि डाटा सुविधा पनि समावेश गरिनेछ।

वाइफाई ६ प्रविधिका सीपीई, एपी, एफटीटीएच सेवा तथा नयाँ दररेटसम्बन्धी विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np, ‘नेपाल टेलिकम’ मोबाइल एप, १९८ मा फोन गरेर वा नजिकको नेपाल टेलिकमको कार्यालयमार्फत प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्