काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई प्रति शेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त दरमा नगद लाभांश दिने निर्णय गरेको हो। टेलिकमले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ।
सञ्चालक समितिबाट पारित भएको लाभांश प्रस्ताव अर्थ मन्त्रालयको स्वीकृति लिएर आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ। साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूको बैंक खातामा लाभांश रकम पठाइने टेलिकमले जनाएको छ। यसै बैठकले टेलिकमको १८औँ वार्षिक साधारण सभा यही पुस ३० गते आयोजना गर्ने निर्णयसमेत गरेको छ। साधारण सभा बिहान ११ बजे काठमाडौँस्थित राष्ट्रिय सभागृहमा हुने जनाइएको छ।
साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेन्डा तय गरिएको छ। वार्षिक साधारण सभा प्रयोजनका लागि २० देखि ३० पुससम्म कम्पनीको शेयर दाखिल–खारेज कार्य बन्द रहनेछ। १९ पुससम्म कायम शेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन्।
उल्लेखनीय छ, नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।






