काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दलीय राजनीतिमा सक्रिय हुनका लागि राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ। सोमवार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग लामो छलफल गरेपछि मेयर शाहले विभिन्न राजनीतिक व्यक्तित्व तथा प्रभावशाली व्यक्तिहरूसँग भेटवार्ता बढाउनुभएको हो। गएराति उहाँले नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, तत्कालीन विवेकशील पार्टीका नेता मिलन पाण्डे, सञ्चारकर्मी सुरजसिंह ठकुरी, ऋषि धमला लगायतसँग छलफल गर्नुभएको थियो।
यसअघि मन्त्री कुलमान घिसिङसहित विभिन्न व्यक्तिसँग भेट गरिसकेका मेयर शाहले आज आफ्ना सल्लाहकार कुमार बेनको ललितपुरस्थित निवासमा बसेर रास्वपा सभापति लामिछानेदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेताहरूसँग राजनीतिक छलफल गर्नुभएको छ।
आज मेयर शाहलाई भेट्नेहरूको उल्लेख्य भीड देखिएको छ। उहाँले आज नवयुवा प्रतिनिधि रक्षा बम, रास्वपा नेता शिशिर खनाल, नेता अमरेश सिंह, कांग्रेस नेता सुनिल शर्मा लगायतसँग पनि भेटघाट गर्नुभएको छ। बालेनसँगको छलफलमा सहभागी केही व्यक्तिहरूका अनुसार उहाँले ‘देश विकास पार्टी’को नेतृत्व आफैँले गर्ने र लौरो चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिने मनशाय व्यक्त गर्नुभएको छ। हाल लौरो चुनाव चिह्न पाएको देश विकास पार्टीको अध्यक्षमा सन्ध्या खनाल रहनुभएको छ।
मेयर शाहको तीव्र राजनीतिक सक्रियताले आगामी दिनमा उहाँको भूमिकाबारे थप चासो र चर्चा बढाएको छ।






