मुस्ताङ – हिउँदयाममा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई सेवा अस्थायी रूपमा स्थगित गरेका छन्। नियमित उडान सञ्चालन गर्दै आएका समिट एअरलाइन्स र तारा एअरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना तथा पर्यटक अफसिजनका कारण उडान स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो।
प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भए पनि चार्टर्ड उडान र आपत्कालीन हेलिकप्टर सेवा भने निरन्तर सञ्चालन हुनेछन्। तारा एअरलाइन्स मुस्ताङका स्टेशन इन्चार्ज सुचन लालचनका अनुसार कम्पनीले डिसेम्बर ४ देखि मार्च १ सम्म पोखरा–जोमसोम उडान स्थगित गरेको छ। यस्तै, समिट एअरलाइन्सले पनि नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ।
हिउँदयाममा मुस्ताङ क्षेत्रमा हावाहुरी चल्ने र मौसम प्रतिकूल रहने भएकाले पोखरा–जोमसोम उडान प्रभावित हुने गर्दछ। पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक खण्ड क्रमशः सहज बन्दै गएसँगै हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ।






